गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ सुडानले नयाँ कार्यसमिति पाएपछि सक्रियता बढाएको छ । संघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाध्यासहितका पदाधिकारीले नेपाल सरकारका मन्त्री तथा सुरक्षा निकायका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरी साउथ सुडानमा रहेका नेपालीहरूको अवस्था, सम्भावना र समस्या विषयमा ध्यानाकर्षण गराएको छ। संघले वैधानिक हैसियतमा बसिरहेका नेपालीहरूलाई श्रम स्वीकृति उपलब्ध गराउन तत्काल पहल गर्न आग्रह गरेको हो।
संघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाध्याले समग्र अफ्रिकामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी दिँदै समस्यामा परेकाको उद्धार, सहयोग र सुरक्षाका लागि एनआरएनएले गरिरहेको कार्यको विवरण प्रस्तुत गरे। उनले भने, “विभिन्न मार्ग भएर साउथ सुडान पुगे पनि धेरै नेपाली वैधानिक रूपमा काम गरिरहेका छन्। तर नेपालको दृष्टिमा अझै वैधानिक नदेखिएकाले उनीहरू श्रम स्वीकृति विहीन छन्। यो अवस्थाले उनीहरू असुरक्षित बनाएको छ, त्यसैले श्रम स्वीकृति दिन मन्त्रालयले चाँडै कदम चालोस् भन्ने हाम्रो अपेक्षा हो।”
मन्त्री भण्डारीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै साउथ सुडानको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। उनले भने, “साउथ सुडानमा रहेका नेपालीहरूको श्रम स्वीकृति नजिकको नेपाली दूतावासमार्फत उपलब्ध हुनेछ। विदेशमा जसरी पुगे पनि वैधानिक रूपमा रहन सरकारले निरन्तर आग्रह गर्दै आएको छ।”
यसै क्रममा नवनिर्वाचित पदाधिकारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई भेटी साउथ सुडानमा एनआरएनएसँग सहकार्य गर्न अनुरोध गरेका छन्। हाल शान्ति स्थापनार्थ तीन वटै सुरक्षा निकायबाट करिब २ हजार नेपाली त्यहाँ कार्यरत छन्। त्यस्तै, प्राइभेट सेक्टर र एनजिओ तथा आइएनजिओमा करिब १ सय नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्।
भेटवार्तामा अध्यक्ष पाध्यासँगै आइसीसी सदस्य बाबुराम गौतम, महासचिव बलराम दाहाल र सदस्य प्रकाशराज भण्डारी सहभागी थिए।
हालै सम्पन्न एनआरएनए साउथ सुडानको तेस्रो महाधिवेशनले रामप्रसाद पाध्याको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। विगत १० वर्षदेखि निष्क्रिय रहेको एनआरएनए साउथ सुडानलाई पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ टिम चयन गरिएको हो।