सिद्धार्थ केवलकारको तेह्रौं साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित
सिद्धार्थ केवलकारको तेह्रौं साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

बुटवलस्थित सिद्धार्थ केवलकार लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

साधारण सभा सम्पन्न भएसँगै सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने कम्पनीका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले जानकारी दिए । कम्पनीको परियोजना नुवाकोट गढी क्षेत्रमा रहेको छ, जुन ऐतिहासिक रूपमा वीर नेपालीहरूले अंग्रेज सेनालाई परास्त गरेको स्थानका रूपमा परिचित छ । साथै सोही क्षेत्रमा भगवान् गौतम बुद्धका कुलगुरुको प्राचीन आश्रम रहेको उल्लेख विभिन्न बौद्ध धर्मग्रन्थमा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष बुटवलका स्थानीय उद्यमी ई. गुरुङ रहेका छन् भने प्रबन्ध सञ्चालकमा शेयर विश्लेषक, लगानीकर्ता तथा जलविद्युत् व्यवसायी प्रभुलाल अधिकारी छन् । कम्पनीका मुख्य लगानीकर्तामा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेडसहित प्रभु ग्रुप्स, बुटवल क्षेत्रका व्यवसायीलगातयत छन् ।

सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आगामी वर्षमा अझ उच्च मुनाफा गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, गत वर्ष तीन लाखभन्दा बढी पर्यटकले सिद्धार्थ केवलकारमार्फत यात्रा गरेको जानकारी पनि सभामा दिइएको थियो ।

Source : abhiyandaily