नेपाली राजदूतावासद्वारा अन्तर्राष्ट्रिय ट्रेल रनमा उत्कृष्ट प्रदर्शन गर्ने धावकद्वय सनमाया र रनमाया बुढा सम्मानित
नेपाली राजदूतावासद्वारा अन्तर्राष्ट्रिय ट्रेल रनमा उत्कृष्ट प्रदर्शन गर्ने धावकद्वय सनमाया र रनमाया बुढा सम्मानित

थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता ‘UTMB Chiang Mai Thailand by UTMB’ मा उत्कृष्ट सफलता हासिल गर्ने नेपाली धावकद्वय श्रीमती सनमाया बुढा र श्रीमती रनमाया बुढालाई नेपाली राजदूतावास, बैंककले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

विश्वकै प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिने उक्त प्रतियोगिता UTMB (Ultra-Trail du Mont-Blanc) शृंखलाअन्तर्गत आयोजना गरिएको थियो। थाइल्याण्डको उत्तरी पहाडी भू–भाग, जङ्गल, उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनामा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकहरूको सहभागिता रहेको थियो।

१०० किलोमिटर लामो कठिन ट्रेल रनमा जुम्लाकी नेपाली महिला धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्दै नेपाल र नेपालीको गौरव अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएकी छन्। त्यस्तै, ५० किलोमिटर दौडमा सहभागी उनकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावन क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्।

आज नेपाली राजदूतावास, बैंककमा आयोजित सम्मान कार्यक्रममा सनमाया बुढाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन, निरन्तर संघर्ष, कठोर अभ्यास र आत्मविश्वासले भरिएको आफ्नो प्रेरणादायी यात्राबारे अनुभव सुनाएकी थिइन्। उनको संघर्षपूर्ण यात्राले उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोती बहादुर श्रीसले धावकद्वयलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। उनले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलताले विश्वसामु नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै यस्ता प्रतिभालाई प्रोत्साहन गर्न राजदूतावास सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले दूतावासले आयोजना गर्न लागेको ‘लुम्बिनी–नेपाल मिनी म्याराथुन’ बारे पनि जानकारी गराए।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइ–नेपाली संघ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजदूतावासका कर्मचारी तथा शिक्षा, पेशा र व्यवसायमा संलग्न करिब २५ जना नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए। साथै, उपस्थित अन्य नेपाली समुदायका सदस्य तथा संघका पदाधिकारीहरूले पनि आर्थिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त कार्यक्रमले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय उपलब्धिलाई सम्मान गर्नुका साथै नेपाली समुदायबीच एकता, गौरव र प्रेरणाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।