काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (FINEY) ले नेपाली उद्यमीलाई विदेशमा लगानी विस्तार गर्न तथा विश्वभर छरिएर रहेका नेपाली र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘नेपाल अनबाउन्ड : नेपाली व्यवसाय सीमापार’ (Nepal Unbound: Nepali Business Beyond Borders) कार्यक्रम आयोजना गरेको छ।
होटल म्यारियटमा बिहीबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले देशको आर्थिक विकास र समृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले नेपालमा आयात भइरहेका वस्तुहरूको पहिचान गरी ती वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाखर भट्टले युवा उद्यमी तथा व्यवसायीको लगानीको दायरा विस्तार गर्नुपर्ने बताए। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै लगानीका अवसर र प्रतिफलबारे अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यक्रममा आफ्नो धारणा राखे। सार्क उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चण्डीराज ढकालले कार्यक्रमलाई सान्दर्भिक बताउँदै सीमापार व्यावसायिक सम्बन्ध र लगानी सहकार्य विस्तारका लागि यस्ता पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
‘नेपाल अनबाउन्ड’ कार्यक्रमले नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न, विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तासँग व्यावसायिक सम्बन्ध सुदृढ गर्न र नेपालमा लगानीका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र आर्थिक विकासका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाली व्यवसायलाई सीमापार विस्तार गर्ने उद्देश्य कार्यक्रमले बोकेको छ।
कार्यक्रमको संयोजन महासङ्घका महासचिव दिपेन घलेज्यूले गर्नुभएको थियो। कार्यक्रममा महासङ्घका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।