साउथ सुडानको अध्यक्षमा रामप्रसाद पाध्या
साउथ सुडानको अध्यक्षमा रामप्रसाद पाध्या

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ सुडानको तेस्रो अधिवेशनले रामप्रसाद पाध्याको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । विगत १० वर्षदेखि निष्क्रिय अवस्थामा रहेको एनसीसी साउथ सुडानको कार्यसमिति पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ईश्वर प्रसाद सिग्देल र रुक्मागत उपाध्याय, महासचिवमा बलराम दाहाल चयन भएका छन् । यसैगरी सचिवमा रमेश बहादुर खत्री चयन हुँदा कोषाध्यक्षमा आनन्द बाबु श्रेष्ठ र प्रवक्तामा राजदीप गुरुङ चयन भएका छन् । यस्तै युवा संयोजक हीरा सिंह पौडेल क्षेत्री चयन हुँदा सदस्यहरूमा प्रकाश राज भण्डारी, रामेन्द्र प्रसाद यादव, विक्रम रवि राना, बेद बहादुर चौधरी, लक्ष्मी प्रसाद ओख्रावु, तिलक रोका, मनबहादुर सार्की र कृष्णबहादुर नेपाली चयन भएका छन् ।

महाधिवेशन हालै भर्चुअल र भौतिक माध्यमबाट सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष पाध्याले पुनः एनआरएनए साउथ सुडानलाई जीवन्त बनाउन सफल भएको भन्दै सहयोगी सबैलाई आभार प्रकट गरे । नवनिर्वाचित अध्यक्ष पाध्यासँग साउथ सुडानको संस्थापक कोषाध्यक्ष, एनआरएनए कम्बोडियाको सल्लाहकार भएर काम गरिसकेको अनुभव छ ।

उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समेट्ने घोषणा गर्दै त्यसमार्फत प्रवासी नेपालीको डाटाबेस निर्माण र आपसी सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाए ।