दक्षिण सुडानका प्रहरी महानिरीक्षक पिटरसंग बुढा र पाध्यको शिष्टाचार भेट
दक्षिण सुडानका प्रहरी महानिरीक्षक पिटरसंग बुढा र पाध्यको शिष्टाचार भेट

दक्षिण सुडान : नेपाल UNPOL कन्टिजेन्टका कमाण्डर SSP जहरसिंह बुढा मगर,एनआरएन एनसीसीका अध्यक्ष राम प्रसाद पाध्य सहितको समुहले दक्षिण सुडानका प्रहरी महानिरीक्षक (IGP) जेनरल अब्राहम मन्युआट पिटरलाई मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

नेपाल UNPOL कन्टिजेन्टका कमाण्डर SSP जहरसिंह बुढा मगर र पाध्य सहित एक नेपाली समुह उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।

भेटवार्तामा सहकार्य प्रवर्द्धन, साथै दक्षिण सुडानमा रहेका नेपाली समुदायका योगदान र उपस्थितिलाई उजागर गर्ने विषयमा छलफल भएको थियोे ।

आइजीपी जेनरल अब्राहमले एनआरएन टोलीलाई हार्दिक स्वागत गर्दै एनआरएन समुदायलाई निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान भएको थियो ।

छलफलले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भएका थिए ।

यो भेटले  दक्षिण सुडान प्रहरी नेतृत्वबीचको मित्रता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाएको छ।

UNPOL कन्टिजेन्टहरू नेपालसँगको साझेदारीले शान्ति स्थापना मात्र होइन, एउटै म्यान्डेट अन्तर्गत सेवा गर्ने राष्ट्रहरूबीचको आपसी सम्मान र ऐक्यबद्धतालाई पनि थप सुदृढ बनाउँदै आएको छ ।

नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्याउँदै आएको छ ।

दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसंघको १९३औं सदस्यका रूपमा सामेल भएको उक्त विश्व संगठनको कान्छो सदस्य देश हो ।