बाल कल्याण आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नम्वर ९ गल्याङमा विद्यालयका पूर्व विद्यार्थी गलकोट नगरपालिका वडा नम्वर ९ गोडखाला निवासी हाल एनआरएन दक्षिण सुडानका अध्यक्ष राम प्रसाद पाध्यायले आफ्नो स्वर्गीय बुवा लोकनाथ पाध्यायको सम्झनामा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
रु. १५ हजार बराबरको न्यानो कपडा (स्विटर, ट्राउजर, टोपी र जुत्ता) पाध्यायका आमा कृष्ण कुमारी पाध्यायले विद्यालयका प्रधानाध्यापक रामकान्त गौतमलाई हस्तान्तरण गर्नुभएको थियो भने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर के.सी. र सदस्य रुमकान्त गौतमले विद्यार्थीहरुलाई वितरण गर्नुभएको विद्यालयका शिक्षक अमृता घिमिरे शर्माले जानकारी दिनुभयो ।
त्यस्तै दाता राम प्रसाद पाध्याय, कृष्ण कुमारी पाध्याय लगायत समस्त परिवारलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । चिसोको समयमा वितरण गरीएको न्यानो कपडाले विद्यार्थीलाई चिसोबाट जोगिन मद्दत पुग्ने बताईएको छ ।