एनआरएनए साउथ सुडान पुनर्गठन : अफ्रिकाको हृदयमा नेपालीको शान
एनआरएनए साउथ सुडान पुनर्गठन : अफ्रिकाको हृदयमा नेपालीको शान

संसारको छानो सगरमाथाको देशबाट सुरु भएको यात्रा आज अफ्रिकाको विशाल भूमिमा पुगेर नयाँ अध्यायमा प्रवेश गरेको छ । संसारको करिब २०.४% भूभाग ओगटेको त्रिभुजाकार महादेश—अफ्रिका—सुन, हीरा, तेल, ग्यास र युरेनियम जस्ता प्राकृतिक सम्पदामा धनी भए पनि चुनौती र संघर्षले ओतप्रोत छ । यही धरातलमा नेपाली समुदाय आफ्नो पसिना, सीप र साहसका साथ जीवन अघि बढाइरहेका छन् ।

अफ्रिकाको उत्तर–पूर्वी भागमा रहेको दक्षिण सुडानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पुनर्गठन भएको छ । हालै सम्पन्न तेस्रो महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेपछि यो संस्था पुनः जीवन्त बनेको हो । यससँगै साउथ सुडानमा छरिएका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्दै, सरकारसँग नजिकिँदै उनीहरूको पीडा,समस्या तथा आशाको सम्बोधन गर्ने नयाँ यात्राको थालनी भएको छ ।

सन् २०१२ मा स्थापना भए पनि दुई कार्यकालपछि निस्क्रिय बनेको यो संस्था पुनः सक्रिय हुनु केवल एउटा औपचारिक क्रियाकलाप होइन,यो त्यहाँ रहेका सयौं नेपालीहरूको जीवनसँग गाँसिएको आशा हो । म आफैं संस्थापक कोषाध्यक्ष भएर यात्रामा साथ दिइसकेको भए पनि परिस्थितिले निरन्तरता दिन सकेन । तर आज, नयाँ उर्जा, विश्वास र प्रतिबद्धतासहित एनआरएनए साउथ सुडान पुनः उठेको छ । अब हाम्रो लक्ष्य केवल साउथ सुडानमै सीमित छैन; सम्पूर्ण अफ्रिकामा छरिएका नेपालीलाई एउटै छातामुनि ल्याउने हो ।

अफ्रिका केवल गरिबी, द्वन्द्व वा भोकमरीको महादेश मात्र होइन । यो विशाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ—तेल, ग्यास, सुन, तामा, हिरा, कफी, चिया, कोकोजस्ता कृषि उपज, र मानव संसाधन। विश्व अर्थतन्त्रमा अफ्रिकाको महत्व दिनानुदिन बढ्दै गएको छ । दक्षिण सुडान, तेलमा धनी भए पनि राजनीतिक अस्थिरता र पूर्वाधारको कमीले गर्दा विकासमा पछि परेको छ । तर यही चुनौतीभित्र अवसर पनि लुकेको छ ।

अफ्रिकामा करिब ५० भन्दा बढी मुलुकमा नेपालीहरूको उपस्थिति छ । उनीहरू प्रायः संयुक्त राष्ट्रसंघका शान्ति सेना र मिसनहरू, स्वास्थ्यकर्मी र शिक्षक, साना व्यवसायी र आप्रवासी कामदारका रूपमा संलग्न छन् । तर, धेरै नेपालीहरूको यात्रा सजिलो छैन। भाषा–संस्कृति, कानुनी असुरक्षा, भिसा प्रक्रिया र सुरक्षा चुनौतीहरूले उनीहरूको जीवन कठिन बनाएको छ ।

अफ्रिकामा श्रम गर्न आउने धेरै नेपालीहरू अनौपचारिक वा असुरक्षित ‘एजेन्सी’ मार्फत पठाइन्छन् । कतिपयलाई पासपोर्ट जफत गरिन्छ, ज्याला दिइँदैन वा न्यून पारिश्रमिकमा काम लगाइन्छ । फर्किन चाहँदा सहज बाटो उपलब्ध हुँदैन । यसले मानव तस्करीको जालो झन् मजबुत बनाएको छ । यसलाई रोक्न नेपाल सरकार, दूतावास, एनआरएनए र स्थानीय निकायबीच सहकार्य आवश्यक छ ।

नेपालको व्यापार अझै भारत, चीन र केही पश्चिमी मुलुकमा सीमित छ । तर अफ्रिकामा अपार सम्भावना छ। नेपालका चिया, अदुवा, सुपारी र आयुर्वेदिक औषधि यहाँ सजिलै विस्तार गर्न सकिन्छ । नेपाली मेडिकल तथा नर्सिङ कलेजहरूले अफ्रिकाबाट विद्यार्थी भर्ना गर्न सक्छन । हिमालयन टुरिजम अफ्रिकन नागरिकलाई आकर्षित गर्न सक्छ ।

नेपाली इन्जिनियर र ठेकेदारहरूले निर्माण तथा प्राविधिक सहयोगमा योगदान दिन सक्छन्। यसमा दक्षिण सुडान कडीको रूपमा काम गर्न सक्छ—पूर्वी अफ्रिकी बजारमा प्रवेशको रणनीति मार्फत ।

एनआरएनए साउथ सुडानको नयाँ नेतृत्वले साउथ सुडानमा रहेका नेपालीहरूको एकतालाई अझ मजबुत बनाएको छ । यसैबीच, नेपाल सरकारसँगको संवाद पनि सुरु भएको छ । श्रम मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा साउथ सुडानमा श्रम स्वीकृति नपाएका नेपालीहरूको असुरक्षा र समस्याबारे प्रष्ट्याइएको छ । मन्त्रीले आश्वासन दिएका छन् कि “साउथ सुडानमा रहेका नेपालीलाई नजिकको दूतावासमार्फत श्रम स्वीकृति उपलब्ध गराइनेछ ।”एनआरएनए साउथ सुडानको नयाँ कार्यसमितिले सुरक्षा निकायका उच्च पदाधिकारीलाई भेटवार्ता गरी सहकार्यको लागि अनुरोध गरिसकेको छ ।

नवनिर्वाचित कार्यसमितिले अझ ठूलो सपना देखेको छ । सगरमाथाको आँगनबाट हिँडेर विशाल त्रिभुजाकार अफ्रिका महादेशसम्म पुगेका नेपालीहरूलाई एउटै परिवारमा बाँध्ने अभियान सुरु भएको छ । त्यसलाई एकतामा बदल्दै, त्रिभुजका तीन कोण जस्तै, हामी सबै नेपालीलाई एउटै धुरीमा जोड्ने लक्ष्य अघि सारेका छौं ।

यस अभियानका ठोस उद्देश्यहरू भनेको अफ्रिकास्थित नेपाली समुदायलाई साझा मुद्दामा समन्वय गर्ने प्लेटफर्म उपलब्ध गराउने, आपतकालीन अवस्थाहरूमा आपसी सहयोग र प्रतिरक्षा संयन्त्र निर्माण गर्ने, नेपाल–अफ्रिका सम्बन्ध विस्तारमा टेवा पु¥याउने, सीप, ज्ञान, अनुभव र लगानी नेपाल भित्र्याउने अभियानलाई सुदृढ गर्नेजस्ता रहेका छन् । यसलाई मूर्त रूप दिन एफकोन (अफ्रिका नेपाली फोरम काउन्सिल) नामक परिषद् गठनको प्रस्तावसमेत अघि सारिएको छ ।

त्यसबाहेक, अफ्रिकाभर रहेका नेपालीहरूको विवरण संकलन गरी सुरक्षित डिजिटल डेटाबेस तयार गर्ने, दशैं–तिहार, नयाँ वर्ष, बुद्ध जयन्ती जस्ता पर्व मनाएर नेपाली संस्कृति प्रवद्र्धन गर्ने, रोजगारी र आप्रवासन समस्या समाधानमा पहल गर्ने, र सामूहिक लगानी प्रवद्र्धन गर्ने योजनाहरू पनि कार्यसूचीमा छन् ।

यो यात्रामा नेपाल सरकार, दूतावासहरू, अन्तर्राष्ट्रिय संघ–संस्था तथा प्रवासी क्लब–संगठनहरू प्राकृतिक साझेदार हुनेछन् । अपेक्षित नतिजा भनेको—अफ्रिकाभर नेपालीहरूको सामूहिकता, संकटमा सहकार्य, संस्कृतिको प्रवद्र्धन, नयाँ लगानीकर्ता र सीपयुक्त जनशक्ति नेपालमा भित्र्याउने, र विश्वव्यापी एनआरएनएमा अफ्रिकाको सशक्त प्रतिनिधित्व हो ।

यो पुनर्गठन केवल औपचारिकता मात्र होइन, तर प्रवासी नेपालीहरूको जीवनमा नयाँ सम्भावनाको ढोका पनि हो । जोखिमपूर्ण वातावरणमा पसिना बगाउने नेपालीदेखि लिएर अफ्रिकाका कुनाकाप्चामा अध्ययन, व्यवसाय वा रोजगारी गर्दै गरेका युवासम्मका लागि यो आशा र एकताको सूत्र बन्नेछ ।

सगरमाथाको फेदीबाट सुरु भएको हाम्रो यात्रा आज अफ्रिकाको हृदयमा पुगेको छ । अब प्रश्न यही हो—के हामी यस यात्रालाई नयाँ अवसर, साझा भविष्य र नेपाली समुदायको सशक्त प्रतिनिधित्वमा परिणत गर्न सक्छौँ?