नेपाल चेम्बर अफ कमर्स (दक्षिण सुडान गणतन्त्र) का Honorary Trade Representative तर्फबाट आथित्य स्वीकार गर्दै काठमाडौंस्थित कान्तिपुर फिल्म एकेडेमीको डबलीमा मञ्चन गरिएको “महाभारत” नाटक हेर्ने अवसर प्राप्त भयो। यो सांस्कृतिक अनुभव केवल नाटक अवलोकन मात्र नभई नेपाली कला, संस्कृति, परम्परा र समकालीन समाजको गहिरो यथार्थसँग साक्षात्कार गर्ने महत्वपूर्ण अवसरका रूपमा रह्यो।
महाभारतका पात्र र घटनालाई आधार बनाएर प्रस्तुत गरिएको यस नाटकले आजको समाज, राजनीति, सत्ता संरचना, स्वार्थ, नैतिकता र मानवीय द्वन्द्वलाई अत्यन्त सशक्त रूपमा उजागर गरेको थियो। कतिपय क्षणमा यस्तो अनुभूति भयो—हामी कुनै पौराणिक कथा होइन, आफ्नै वर्तमान समाज र समयको ऐना हेरिरहेका छौँ। यही कारणले “महाभारत सकिएको छैन, पात्रहरू मात्र फेरिएका छन्” भन्ने सन्देश नाटकभरि अत्यन्त जीवन्त रूपमा प्रस्तुत भएको अनुभूति भयो।
वरिष्ठ कलाकार मनोज गजुरेलसहित सम्पूर्ण कलाकारहरूको अभिनय अत्यन्त प्रभावशाली, जीवन्त र सशक्त रह्यो। उनीहरूले हास्य, व्यङ्ग्य र गम्भीर सामाजिक सन्देशलाई सन्तुलित रूपमा प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनसँगै गहिरो चिन्तनतर्फ डोर्याउने काम गरे। यस्तो प्रकारको रंगमञ्चीय प्रस्तुति नेपाली नाट्य परम्पराको सशक्तता र कलाकारहरूको सिर्जनशील क्षमताको प्रमाण हो।
नेपालको कला, साहित्य, रंगमञ्च र चलचित्र क्षेत्रले हाम्रो सांस्कृतिक पहिचान, परम्परा र सामाजिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्ता नाटकहरू केवल मनोरञ्जनका माध्यम मात्र होइनन्, समाजलाई सचेत, संवेदनशील र जिम्मेवार बनाउने प्रभावशाली माध्यम पनि हुन्। नेपाली रंगमञ्चको यस्तो प्रस्तुति हाम्रो सांस्कृतिक चेतना र राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउने आधार हो।
विदेशमा रहेका नेपाली तथा नेपाली मूलका प्रतिनिधिहरूका लागि यस्ता सांस्कृतिक कार्यक्रमहरूले मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण भूमिका खेल्छन्। नेपालभित्र र बाहिर दुवैतर्फ यस्ता गतिविधिहरूले नेपाली कला, संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्याउँछन्।
आजको सन्दर्भमा नेपाली रंगमञ्च, चलचित्र, संगीत र सांस्कृतिक गतिविधिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सकियो भने नेपालको सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउन सकिन्छ। नेपालको मौलिक संस्कृति, विविध परम्परा र प्राकृतिक सौन्दर्य विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ।
“महाभारत” नाटकले स्पष्ट सन्देश दिएको छ कि कला तब सफल हुन्छ जब यसले दर्शकलाई मनोरञ्जनसँगै सोच्न, प्रश्न गर्न र समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्छ। नाटक समाप्त भए पनि त्यसका पात्र, संवाद र विचारहरू लामो समयसम्म मनमा गुञ्जिरहने खालका छन्।
यस सांस्कृतिक कार्यक्रममा आथित्य स्वीकार गर्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक तथा सम्बन्धित सम्पूर्ण पक्षप्रति हार्दिक आभार व्यक्त गर्दछु।
नेपाली रंगमञ्च, कलाकारहरू र सांस्कृतिक अभियन्ताहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस्ता प्रयासहरूले नेपालको संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनमा अझ महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछु।